फुलको नाम लिएर दुःखी

– अनुपम रोशी –
ऊ केटाकेटी जस्तै उफ्रेर बाहिर जान्छे । सेतो गमलाभित्र ढकमक्क फुलेका पहेँला विकासे गुलावहरु लिएर       भित्रिन्छे ।  दिदी, हेर्नुस् त, तपाईलाई मनपर्छ पर्दैन ? गमलालाई सरगमको नजिकै ल्याइदिन्छे र मन्द मुस्कानसँगै छेउमा उभिन्छे । साँच्चि रोहिणी, निकै     राम्रो छ त तिमी जस्तै । ठट्टा गर्नहुन्छ दिदी पनि । फूलजति  राम्रो त यो संसारमा केही हुन्छ जस्तो लाग्दैन मलाई ।
रोहिणीले लाजले अनुहार रातो पार्छे । सरगम अझै थप्छिन् – यो फूलभन्दा पनि निकै राम्री देखे त मैले तिमीलाई साँच्चै भनूँ भने तिमी रातो गुलाब जस्तो राम्री छ्यौ । रातो गुलाब भन्नासाथ रोहिणीको अनुहारको त्यो लाली यसरी बदलियो कि हेर्दाहेर्दै पानी पर्न अँध्यारिएको आकाश जस्तै भयो । सरगम आश्चर्यमा परिन् । सायद उसलाई रातो गुलाब मन पर्दैन ।
किन के भयो ? तिमी रिसायौ ? उसले मौन भएर उक्त गमलाका पहेँला फूलहरुमा दृष्टि गाडिरही । रोहिणी के भयो ? के तिमीलाई रातो गुलाब मन पर्दैन ? सरगमले फेरि सोधिन । उसले केही नबोली बरर्र आँसु बगाई । के खालकी केटी हो ? यो अघिसम्म त निकै खुसी थिई । एक्कासी यस्तो परिवर्तन । यो कसरी हुन सक्छ ? उसको मनमा के कुरा छ त्यस्तो ? जसले गर्दा ऊ यसरी एउटा फूलको नाम लिँदैमा यतिका दुःखी हुन पुगी । उसलाई निकै अप्ठ्यारो लाग्यो । रिचर्डसँगै गएको भए हुने थियो भन्ने स्थितिमा पुगिन् ।
तर यो समयबाट उम्कने कुनै विकल्प थिएन । आखिर किन यो केटी रातो गुलाबसँग यति विघ्न दुःखी छे ? सरगमलाई उत्सुकता जाग्छ । रोहिणीको मन छाम्ने विचरा उत्पन्न हुन्छ । रोहिणी तिमी मसँग रिसाएकी ?          सरी ल ….. ।
रोहिणीले फेरि पनि उस्तै मुद्रामा टाउको हल्लाई, जुन ऊ रिसाएकी छैन भन्ने सूचक थियो । किन मौन बसेकी त ? सरगमले उसलाई कोट्याउन खोज्छे । तपाईले रातो गुलाब मनपराउनु हुन्छ हो ? निराश भएर उसको मुख खुल्छ । अँ, मलाई सबै गुलाब मनपर्छ । के तिमीलाई रातो गुलाबप्रति घृणा जाग्छ ? सरगमले पुनः सोधिन् । हो मलाई रातो गुलाब मन पर्दैन ।
कारण के होला, म जान्न सक्छु ? सरगमले उसको अन्तरमनमाथि प्रश्न तेस्र्याइन् । त्यो रातो गुलाब मेरो मुटुमा बिझेको विगतको त्यो पाटो हो, जसलाई म कुनै हालतमा सम्झन चाहन्न ।
उसको आँखामा टिलपिलाएका आँसुका ढिक्का गाला हुँदै खसिरहेका थिए । वातावरण निकै नमीठो बन्न पुग्यो । सरगम मौन भएर रोहिणीको रोदनपूर्ण अनुहारमा केन्द्रीत भइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार